श्रवण वत्स
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा हिँउदे बाली र गहुँ खेतीको लागि कृषि शाखामा आएको मलखाद सबै वडाहरुमा वितरण हुँदैछ । १ नम्बर वडा (तिलाठी -बेल्ही)को लागि आएको मल सोही गाउँपालिका ३ नम्बर वडा सकरपुराका सहकारीले वितरण गर्दैछ । यस्तोमा केही स्थानीयहरुले वडा कार्यालयले मल वितरणमा धांधली गरेको आरोप लगाउँदै आएका छन् ।
यस विषयमा समाचार सम्प्रेषण गर्ने उदेश्यले क्रान्ति केन्द्रले गरेको सम्वादमा पालिकाका कृषि शाखा अधिकृत उदयकान्त झाले प्रत्येक वडामा डिएपी मल ७० बोरा, साल्टेनिङ्गबाट आएको ४३ र कृषी संस्थाबाट आएको ३२ गरी कुल ७५ बोरा यूरिया र प्रत्येक वडामा ६/६ बोरा पोटास वितरणको लागि पठाएको बताए ।
उनले १ नम्बर वडामा मल वितरण गर्न योग्य कृषी सहकारी नभएकोले ३ नम्बर वडा सकरपुरामा रहेका कृष्णा कृषी सहकरीलाई वितरण गर्न दिएको बताए । “१ नम्बर वडाबाट एउटा सहकारीले आवेदन भरेको थियो ।” उनले भने ” दुई बर्षको ओडिट रिपोर्ट चाहेको थियो, त्यो सहकारीसंग थिईन्, त्यसैले जिल्लामा बसेको बैठकले त्यसलाई छनौट गरेन् ।”
यस विषयमा १नम्बर वडाका अध्यक्ष दिनेश्वर मिश्रले वडा कार्यालयमाथि लगाइएको आरोपको खण्डन गर्दै मल वितरणमा वडाको कुनै भुमिका नरहेको बताए । “मल वितरणमा वडाको कुनै भुमिका हुँदैन् ।” उनले भने “वितरक संस्था चयन गर्ने काममा पनि वडाको कुनै भुमिका हुँदैन् ।”