क्रान्ति केन्द्र सम्वाददाता
नेपाल पत्रकार महासंघ शाखा, सप्तरीले नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा कान्तिपुरकर्मी अवधेश झालाई समाजिक सञ्जालमाध्यबाट धम्की दिने व्यक्तिलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन्।
मंगलबार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा पत्रकारको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगी उजुरी दिएका छन् ।
सञ्चारकर्मी झाले गत शनिबार तोक आदेशमा कर्मचारी भर्ना शिर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसँग समाचार सम्बन्धित छ ।
उक्त समाचार प्रकाशन भएपछि नसरुल राजा र मो. समाजद नामको फेसबूक आईडीबाट पत्रकार झालाई झोले पत्रकार, अवधेश झाबाट सावधान, बिकाउ पत्रकार र तस्विरमा क्रसको चिन्ह समेत राखि विभिन्न उपनाम दिई गाली समेत गरेका छन ।
महासंघ सप्तरीले प्रहरीमा बुझाएको उजुरीमा “नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि पत्रकार झा असुरक्षित हुन पुगेको छ ” उल्लेख छ । उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत राखी उजुरी बुझाइएको छ ।
कुनै पनि समाचार लेखेको विषयमा सम्बन्धित पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अबस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्रावधान हुँदाहुँदै पनि समाजिक सञ्जाल माध्यबाट राजा र मो. सजादले पत्रकार झामाथि ज्यान मार्ने धम्कीसम्म दिएको हुँदा उनीहरुमाथि कानुन बमोजिम कारवाहीको माग गर्दै महासंघले उजुरी बुझाइएको हो ।