क्रान्ति केन्द्र सम्वाददाता
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज(मंगलबार) राजविराजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा दुर्गा सेकेण्ड्री विद्यालयका अभिनव यादवले प्रथम स्थान ल्याएका छन् ।
‘लैङ्गिक हिंसा र न्यूनिकरण’ विषयमा आयोजित प्रतियोगितामा राजविराज नगरपालिकाभित्रको विद्यालयका कुल २२ जना विद्यार्थीहरु सहभागी रहेका थिए । त्यसमा सर्वोत्कृष्ठ प्रस्तुती दिएर यादवले २ हजार ५ सय बराबरको प्रथम पुरस्कार हात पारेका छन् ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयकी नेहा झा द्वितीय भएकी छिन् भने ह्याप्पील्याण्ड सेकेण्ड्री विद्यालयकी ज्योति साह तृतीय र लिटिल एञ्जेल मोडर्न सेकेण्ड्री स्कूलका हर्षजित मिश्र सान्तवना पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।
द्वितीयलाई २ हजार, तृतीयलाई १ हजार ५ सय र सान्तवनालाई १ हजार रुपियाँ बराबरको शैक्षिक सामाग्रीबाट पुरस्कृत गरिएको छ ।
विजेताहरुलाई नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण, सप्तरी सामुदायिक सेवा केन्द्र हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा र १६ दिने अभियान मूल समारोह समितिका मनोहर पोखरेलले पुरस्कार वितरण गरेका थिए।
जिल्ला प्रहरी कार्यालय,सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राजविराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विनयकुमार सोनु, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख अनीता चौधरी, शाखा अधिकृत प्रकाश गुप्ताको उपस्थिती रहेको कार्यक्रमको उद्घाटन राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले गरेकी थिइन्।
विद्यार्थीहरुलाई लैङ्गिक हिंसाका बारेमा जानकारी हुन सकोस् र उनीहरुले पनि न्यूनिकरणका उपाय अन्य सरोकारवालालाई जानकारी गराउन सकुन् भन्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ । सबै सहभागी विद्यार्थीहरुले निर्धारित समयमा राम्रो प्रस्तुती गरेकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको प्रतिभा देखेर ती विद्यार्थी भविष्यमा असल नागरिक हुन सक्ने आशा देखेको सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्माले बताएका छन् ।
कार्यक्रममा मिलाफकी अध्यक्ष रमिला साह, नेपाल मजदुर यातायाता संघका अध्यक्ष संजय साह, हेल्प मधेशका अध्यक्ष प्रमोद शर्मा, ओसिएमसीकी मनिषा सिम्खडा, आसमान नेपालकी शान्ता सिंह, पत्रकार पुनम पोखरेल, प्रियासिंह थारु, बृजमान तामाङ, शिक्षक, र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।