क्रान्ति केन्द्र सम्वाददाता
नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल किसान महासंघ, सप्तरीले किसानहरुको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले आज (बिहिबार) जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले सरकारले तोके अनुसारको मुल्यमा सप्तरीको १८ वटै पालिकाका किसानहरुको धान खरिद गर्ने व्यवस्था मिलाउन, किसानहरुको लागि आवश्यक मलखाद्यको व्यवस्था गर्न, किसानहरुको माग अनुसार गहुँको विउ वितरण गराउन र जिल्ला स्थितका मलखाद्यको गोदाममा निरक्षण गर्न तथा अखिल नेपाल किसान महासंघको प्रतिनिधिसहितको संयुक्त समन्वय गरी समुचित वितरण गर्न माग गरेका छन् ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य सुखराम यादवले किसानले भोगीरहेको पीडालाई उजागर गर्दै अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । “सरकारले धानको मुल्य तय गरेपनि सजिलो ढङ्गले किसानको धान किनदिने व्यवस्थापन नभएको कारण किसान सस्तोमा व्यपारीलाई धान बेच्न बाध्य भएका छन् ।” उनले भने “पछि व्यपारीले त्यही धान महँगोमा बेच्छ व्यपारीलााई तत्काल फाइदा हुन्छ तर यस्तोमा किसान त ठगाठग हुनेभो ।”
निवर्तमान संघीय सांसद तथा नेकपा एमाले नेतृ सरिता गिरीले किसाहरुनलाई कृषिको लागि आवश्यक मलखाद्य, बिउ तथा धान बिक्रीको उचित व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
यी मागहरुलाई यथासिघ्र पुरा नगरी वेवास्ता गरिएमा अगामी दिनमा आन्दोलन लगायतका अन्य दबाबमुलक कार्यक्रमहरु गरिने पत्रमा जनाइएको छ।