श्रवण वत्स
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत विजय भएको छ । उनी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको आन्तरले हराउँदै विजयी भएका हुन् ।
मुख्य निर्वाचन कार्यालय राजविराजले बुधबार अन्तिम मत परिणाम घोषणा गरेका थिए । सप्तरी निर्वाचन क्षेत्रमा नम्बर २ मा कुल ६४ हजार २ सय २९ मत खसेको थियो । जसमध्ये ३ हजार २ सय ९८ मत बदर भएको थियो । कुल सदर मत ६० हजार ९ सय ३१ रहेका थिए । त्यसमध्ये अध्यक्ष डा. राउतको पक्षमा कुल ३५ हजार ४२ मत परेका थिए भने उनका प्रतिद्वन्द्वी जसपा अध्यक्ष यादवको पक्षमा १६ हजार ९ सय ७९ मत परेको थियो ।
त्यस्तै वाम लोकतान्त्रिक गठबन्धनबाट आफ्ना उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जय प्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरेका थिए ।
यस अघि प्रदेशसभा सदस्य २ (क) मा जनमत पार्टीका सतिश कुमार सिंह र २ (ख)मा महेश प्रसाद यादव विजय भएको थियो ।
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट उपेन्द्र यादव विजय भएका थिए । उनी आफ्ना प्रतिद्वन्दी माओवादी पार्टीका केन्द्रकस उमेश यादवलाई १० हजार ४० मतको अन्तले पछि पार्दैै विजय भएका थिए । त्यतिबेला उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरम नेपाल रहेको थियो । उनी महन्थ ठाकुरका राष्ट्रीय जनता पार्टीसँग तालमेल गरेका थिए ।
त्यतिबेला उपेन्द्र यादवको पक्षमा कुल २१ हजार ६ सय २० मत खसेका थिए भने उनका प्रतिद्वन्द्वी उमेश कुमारको पक्षमा ११ हजार ५ सय ८० मत प्राप्त भएको थियो ।