क्रान्ति केन्द्र सम्वाददाता
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु भन्दा ७२ घण्टा अघि देखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।
भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको बैठक बसेको थियो । बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए । बैठकमा नेपालबाट प्रजिअ पौडेल र भारतबाट मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले नेतृत्व गरेका थिए ।