प्रवेशकुमार बाबुल
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सप्तरीमा मत माग्न अधिकार जस्तो लाग्छ भनेका छन् । बुधबार राजविराजमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । तिलाठीकोइलाडीमा मुसहर समुदायको लागि बनाइएका घरको बारेमा भन्दै “बाढी आउँदा खेरी एउटा बस्ती बनाउन पाएका थिएँ, सप्तरीको घाउमा एउटा मलहम लगाउन पाएको छोराको नाताले सप्तरीमा भोट माग्दा कतै न कतै मेरो अधिकार जस्तो लाग्छ ।” उनले भने “यो त मेरै घर हो,मेरै ठाउँ हो लाग्छ ।”
उनले मैले घर बनाई राखेको भए जिवनमा कति घर बनाउन सक्थे भनेर प्रश्न गरेका छन् । उनले भने “अब निति बनाउन संसदमा जान आएको छुँ, जसले गर्दा कोही पनि घरबार बिहीन नहोस्।”
लामिछानेले जनतासँग भोट बदल्न आग्रह गरेका छन् । उनले पुरानो पुस्तालाई छाडी नयाँ पुस्तालाई मत दिन जनतासँग आग्रह गरेका छन् । “आफ्नो घरबाट टाढा विदेशमा दुःख गरि कमाईरहेकाहरुले तपाईको आश गरिरहेका छन्, उनीहरूको भविष्यको लागि तपाईलाई नयाँ पुस्ता चुन्नै पर्छ।” उनले भने “पुरानो पुस्तालाई तपाईहरुले हेरिसक्नु भएको छ, मलाई आलोचना गरिरहनु पर्दैन।”
उनले जनतासँग आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।