क्रान्ति केन्द्र सम्वाददाता
जनता समाजवादी पार्टीले संघीय संसद र प्रदेशसभा सदस्यहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने घोषणा गरेको छ ।शनिबार काठमाडौंमा पार्टी अध्यक्ष उपेन्द्र यादवले जारी गरेको चुनावी घोषणापत्र यस्तो भनिएको छ ।
पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन हुनुपर्ने आवश्यकता उक्त घोषणापत्रमा औंल्याएको छ ।
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको परिकल्पना गरेका छन् । राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने प्रस्ताव गर्दै जसपाको चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ ।
जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने प्रस्ताव पनि घोषणापत्रमार्फत प्रस्ताव सहित प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घोषणापत्रमा उल्लेख गरिएको छ । प्रदेशहरुमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरुमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भनिएको छ ।
कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने घोषणा पार्टीले घोषणा गरेको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद् बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरु मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने जसपाको अडान छ ।