क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रशासन कार्यालय, पर्साका एक जना कर्मचारी घुस लिँदै गर्दाको अवस्थामा रंगेहात पक्राउ परेका छन् । उक्त कार्यलयको मुद्दा फाँटका कर्मचारी संजयकुमार यादव पक्राउ परेका हुन् । उनी एकजना सेवाग्राहीसंग ५ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् । यादव कम्प्युटर अपरेटरको पदमा कार्यरत थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले यादवलाई सोमबार पक्राउ गरेको हो । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएका टोलीले उनलाई घुस लिँदैगर्दा पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।