क्रान्ति केन्द्र सम्वाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार जनालाई मन्त्री पदबाट मुक्त गरेका छन् ।
मन्त्री पदबाट मुक्त हुनेमा कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र वन तथा वातावरण मन्त्री प्रदीप यादव रहेका छन्।
नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीलाई नै दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिए ।
जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका चारै जना मन्त्रीहरूलाई देउवाले बर्खास्त गरेका हुन् ।
गोविन्दप्रसाद शर्मा (कोइराला) ले सम्हालि रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ । शर्माको कार्य अवधि सकिएको हुनाले उक्त मन्त्रालय खाली भएको थियो ।