क्रान्ति केन्द्र सम्वाददाता
आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा गरेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ । कतिपय स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले बताएका छन् ।
आयोगका सहायक प्रवक्ता अर्यालले बुधबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको पाइए कारबाही गरिने उल्लेख गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा प्रचार गर्न नमिल्मने आयोगले जनाएको छ ।निर्वाचित स्थानीय तह बाहेकमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्नुपरेमा प्रचारप्रसार गर्दा सरकारी सवारी सधान र स्रोतको प्रयोग गर्न नमिल्ने आयोगले उल्लेख गरेको छ ।