क्रान्ति केन्द्र सम्वाददाता
आशन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारहरुले मनोनयन दर्ता गराएसंगै उनीहरूमाथि टिक्काटिप्पणी सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतमाथि पनि टिक्काटिप्पणी हुन थालेको छ ।
जसपाको एमालेसंगको चुनावी तालमेलमा केही व्यक्तिहरूले असन्तुष्टी जनाउँदै यादवको आलोचना गर्न थालेका छन् । उनीहरुले यादवले आफ्नो फाइदा अनुसार तालमेल गर्ने गरेको आरोप लगाए राखेका छन् । यादवमाथि कतिपयले जातिवादी राजनीती गर्ने गरेको पनि आरोप लगाए राखेका छन् । उनका समर्थक र कामबाट सन्तुष्ट रहेकाले उनको प्रशंसा पनि गरिराखेका छन् ।
त्यसतै सोही क्षेत्रबाट उम्मेदवारी दिएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत पनि चर्चामा रहेका छन् । उनीमाथि केही व्यक्तिहरूले नातावादको आरोप लगाए राखेका छन् । जनमत पार्टीबाट उनका दाजुले पनि सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएसंगै नातावादको आरोप लगाउन थालेको छ । जनमत पार्टीबाट भिन्न अपेक्षा गरेको भन्दै व्यक्तिहरूले राउतको आलोचना गर्न थालेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चोटी भाग लिईरहेको जनमत पार्टीको लागि यो सकारात्मक नरहेको केही बुद्धिजिवीहरुको भनाई छ ।
अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा अध्यक्ष यादव यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।त्यस निर्वाचनमा राउत नेतृत्वको जनमत पार्टीले भाग लिएको थिएन ।