क्रान्ति केन्द्र सम्वाददाता
अहिले देशको विभिन्न भागमा भइरहेको बर्षाले गर्दा सप्तरीका किसानहरु अन्यौलमा परेका छन् । एकातिर बर्षाले गर्दा सुकिरहेको धानबालीमा मदत पुग्ने भएकाले उनीहरू खुसी छन् भने अर्कातिर निरन्तर बर्षा भइरहँदा धानबाली नष्ट हुने सोचेर अन्यौलमा परेका हुन् । गत वर्ष कार्तिक महिनामा भएको बेमौसमी बर्षाले धानबालीमा भएको क्षति उनीहरूको यस चिन्ताको कारण हो । गत वर्ष बेमौसमी बर्षाको कारण धानबालीमा भएको क्षतिको क्षतिपूर्ति खै भनेर उनीहरुले क्रान्ति केन्द्र मार्फत सरकारसँग प्रश्न गरेका छन् ।
सप्तरीका एकजना किसान राम सेवक रायले भने ” अहिलेको यस बर्षाले त धानबालीलाई फाइदा नै गरेछ तर निरन्तर बर्षा भइरह्यो भने गत वर्ष जस्तै धानबाली नष्ट हुने कि चिन्ता लागेको छ । ” उनले करुण स्वरमा गत वर्ष कार्तिक महिनामा बर्षाले त खेतमा भएका सबै धानबाली नष्ट गरिदिएको सुनाए । क्षति भएको विवरण लेखेर लगेपनि पनि हालसम्म कुनै क्षतिपुर्ती नदिएको रायले बताए ।
सप्तरीका एकजना किसान रमेश कुमार रायले भने ” अहिलेको बर्षाले त धानबालीलाई क्षति गरेको छैन् तर गर बर्ष जस्तै भए त पक्कै क्षति गर्छ ।” उनले भने “गत वर्षको क्षति हुने लगतै घरमा आएर कर्मचारीले क्षति विवरण लेखेर लगेको थियो तर त्यसपछि अझ सम्म कुनै खोजखबर नै गरेनन् । ”
स्थानीय लक्ष्मी देवी, झबर नारायण यादव, रमिला देवीलगायतका धेरै जनाले यस्तै प्रश्न तथा चिन्ता व्यक्त गरेका छन् ।