श्रवण वत्स
राजविराज ।
हिन्दुहरुको महान पर्व विजया दशैंको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । सप्तरी जिल्लाको विभिन्न धार्मिक स्थलहरुमा अरु दिनको तुल्नामा आज पुजापाठ गर्नेहरुको धेरै नै भिड लागेको छ ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सन्तकुमार रहेको छ । स्कन्दमाताको रुपको वर्णन सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको धर्मशास्त्रहरु उल्लेख छ ।
त्यस्तै अर्कौ पौराणिक कथा अनुसार तारकासुर नामक एक राक्षस थियो । जसको अन्त्य शिवपुत्रको हातले मात्र सम्भव थिए । त्यसपछि माता पार्वतीले आफ्नो छोरा स्कन्द (कार्तिकेय) लाई युद्धको तालिम दिन स्कन्द माताको रूप धारण गरिन् । स्कन्दमाताबाट युद्ध तालिम लिएपछि भगवान कार्तिकेयले तारकासुरलाई मारेका थिए ।
छिन्नमस्ता गाउँपालिका वडा ३ स्थित रहेका छिन्नमस्ता (सखडा) भगवती मन्दिरमा बिहानै देखी भक्तजनहरुको भिड लागेको छ । कार्यालय, स्कुल, कलेजहरु बन्द भएपछि दैनिक रुपमा पुजा पाठ गर्नेहरुको भिड बढ्दै आएको छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुरले बताए ।
ठाकुरका अनुसार दैनिक छिमेकी देश भारतबाट समेत भक्तजनहरु पुजा पाठ गर्ने बृद्धि हुर्दै गरेका छन । भारतबाट आउने भक्तजनहरुको सिमा क्षेत्रमा कुनै किसिमको असुविधा नहोस त्यसको लागि सबै निकायहरुसँग समन्वय भईसकेको उनले बताए ।
हनुमाननगर कंकालनी- १ नम्बर वडा स्थित कोशी बाँधमा रहेका कंकालनी मन्दिरमा अरु दिन भन्दा बिहानै देखी भक्तजनहरुको भिड बढेको कंकालिनी मन्दिर पूजा समितिले बताए ।