श्रवण वत्स
राजविराज ।
हिन्दुहरुको महान पर्व विजय दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा ३ स्थित रहेका छिन्नमस्ता (सखडा) भगवती मन्दिरमा बिहानै देखी भक्तजनहरुको पुजा पाठ गर्न भिड लागेको छ ।
त्यस्तै, हनुमाननगर कंकालनी १ नम्बर वडा स्थित कोशी बाँधमा रहेका कंकालनी मन्दिरमा पनि बिहानै देखी भक्तजनहरुको भिड छ । त्यस्तै, राजविराज स्थित रहेका राजदेवी मन्दिर, भगवती मन्दिर, डाक्नेश्वरी मन्दिर, हनुमाननगर चौकमा विगत २० बर्षदेखी सामुहिक रुपमा निर्माण हुँदैआएका माटोको मुर्तिघरमा समेत भक्तजनहरु बिहानै देखी पुजा पाठ गर्न भिड लागेका छन ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका ५ नम्बर वडा लोखरम चौकमा विगत १० बर्ष देखी सामुहिक रुपमा माटोको दुर्गा भगवती लगायतको मुर्ति निर्माण गरी पुजा पाठ गर्दैआएको आज दोश्रो दिन बिहानै देखी भक्तजनहरुको भीड लागेका छन । त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका ३ नम्बर वडा, सकरपुरा स्थित रहेका उग्रतारा मन्दिरमा समेत भक्तजनहरुको भीड छ । तिलाठी कोइलाडी गाउँपालिका १ नम्बर वडामा ग्राम देवता स्थानमा विगत १० बर्षदेखी सामुहिक पार्थी महादेवको पूजा र सम्पूर्ण दुर्गा पाठ हुँदैआएको छ। त्यस्तै सरस्वती मन्दिर, लक्ष्मी नारायण मन्दिर लगायतका मिन्दरहरु बिहानै देखी पुजा पाठ गर्ने भक्तजनहरुको भिड लागेका छन ।
त्यस्तै छिमेकी देश भारतको सुपौल जिल्ला बिहार राज्य कुनौलीमा बिगत कयौं बर्ष देखी माटोको सामुहिक मुर्ति स्थापना गरी पूजा गर्दैआएको छ । त्यहाँ समेत बिहानै देखी भक्तजनहरुको पुजा पाठ गर्नेहरुको भिड लागेका छन ।
मिथिला परम्परा अनुसार मिथिलाञ्चलमा बिहानै गाईको गोबरले आफ्नो आँगनलाई लेप्ने प्रचलन रहक छन, त्यसपछि पार्थि महादेव बनाई हरेक घरमा महादेवको पुजा समेत गर्ने प्रचलन रहेका छन । त्यसपछि भगवती घरमा कुमारी खुवाउँने कुल देवतालाई खुसी पार्न कुलदेवता घरमा पाठ, आरती र भजन समेत गर्ने गरीन्छ । धेरै जसो भक्तजनले नवरात्रा भरी ब्रतमा समेत बस्ने गर्छन ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ ।