क्रान्ति केन्द्र सम्वाददाता
राजविराजमा दोषीलाई कारवाहीको माग गर्दै दलित समुदायले प्रदर्शन गरेका छन् । राष्ट्रिय दलित जागरण अभियान नेपालले त्रिभुवन रामको हत्याको दोषीलाई कारवाहीको माग गर्दै मंगलबार प्रदर्शन गरेका हुन् । अभियानका सदस्य जयप्रसाद रामको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट विरोध र्याली निकालिएको थियो ।सहभागीहरुले सडकमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि उनीहरूले २०७७ असार २९ गते सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका ४५ वर्षीय त्रिभुवन रामलाई वेपत्ता पारि हत्या गरिएको घटनाका दोषीलाई कारवाही हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र सप्तरी जिल्ला अदालतमा ज्ञापन पत्र बुझाइएका थिए ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका लागि बुझाइएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जीवी गिरीलाई बुझाइएको छ भने अदालतका मुख्य न्यायाधिसका लागि पनि ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य रामले बताए ।
मृतक त्रिभुवनकी पत्नी घुरनी देवी रामले यसअघि सोमवार पत्रकार सम्मेलन गर्दै न्यायको गुहार गरेकी थिइन् ।