क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराजमा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । आज (आइतबार) जिल्ला प्रहरी कार्यालय सप्तरी तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । सप्तरीमा चालु आर्थिक बर्षको साउन र भदौ गरी २ महिनामा २२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कमा उल्लेख छ । २२ जनामा १४ जना महिला र ८ जना पुरुष रहेका छन् । त्यसमा सबभन्दा बढी १० वर्ष देखि ३० बर्ष उमेर समुहको १९ जना रहेको तथ्याङ्कले देखाउँछ ।
विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न आमनागरिकलाई सूचित गराउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । कार्यक्रममा प्रमुख अतिथी सप्तरीका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास कर्ण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अबि नारायण काफ्ले, नेपाल सेनानी प्रभात किरण श्रेष्ठ, नगरपालिका तथा वडा कार्यालयहरुका प्रतिनिधीहरु, पत्रकार, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरु गरी जम्मा ३३८ जनाको सहभागिता रहेको काफ्लेले बताए ।