क्रान्ति केन्द्र सम्वाददाता।
नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्युरोले सोमबार एक सूचना प्रकाशित गरी सामाजिक सञ्जालमा फैलाइएको वच्चा चोरीको भ्रामक प्रचारमा विश्वास नगर्न अनुरोध गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरिक्षक पशुपति कुमार रायद्वारा जारी गरिएको सूचनामा भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर विभिन्न व्यक्तिहरुका तस्वीरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएका यस्ता भ्रामक प्रचारमा उल्लेख भएको कुनै पनि घटनाको उजुरी वा सूचना हालसम्म कुनै पनि प्रहरी कार्यालयमा नआएको प्रवक्ता रायले बताएका छन् ।
त्यस्तो अपराध सम्बन्धी कुनै पनि सूचना प्राप्त भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिन उनले आग्रह समेत गरेका छन् । बच्चा चोरी बारे भ्रामक प्रचार गर्ने विरुद्ध कानुन बमोजिम कारबाही समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।