कुनै पनि कानुन पिडितलाई न्याय दिनका लागि बनाइएको हुन्छ । तर यसको गलत फाइदा लिनेहरु पनि धेरै छन् । कानुनको दुरुपयोगले गर्दा निर्दोषले सजाय पाए त्यो भन्दा अन्याय केहि हुन सक्दैन । यस्ता कुकृत्यलाई रोक्न समय-समयमा कानुन माथि स्वस्थ्य बहस हुँदै रहनु आवश्यक हुन्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ । ‘उल्लेख छ ।
बर्तमान समयमा १५ बर्ष वा यो भन्दा पनि कम उमेर देखि नै बोइफ्रेण्ड गलफ्रेन्ड सम्बन्धमा रहि रहेका अवस्था सर्वविदितै छ । बढ्दो उमेर संगै शरिरमा हार्मोनको गतिविधि पनि परिवर्तन भइराखेको हुन्छ । विपरित लिंग प्रतिको आकर्षण स्वभाविक भएकाले संगै बस्दा यौनजन्य व्यवहार पनि हुन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसमा पनि कम उमेरकालाई त्यति सामाजिक, कानुनी कुराको जानकारी नभएर पनि भावना रोकिदैन् । यस्ता सम्बन्धमा बसि राखेकामा नाबालिगको खण्डमा जबर्जस्तीको सम्भावना हुन्छ तर कम नै हुन्छ पनि पक्का हो । ज्यादातर अवस्थामा शारिरीक सम्बन्ध दुवैको इच्छा अनुसार राखिएको हुन्छ । यस्तो खण्डमा समस्याले जन्म लिन्छ । कानुनी प्रावधान अनुसार १८ बर्ष भन्दा कमको बालिकाको खण्डमा मञ्जुरी लिएर पनि करणी गर्दा जबर्जस्ती करणी मानिने भनेको छ । जसको दुरुपयोग पनि भइराखेको छ । मन नमिले, लोभ लालच वा अन्य कुनै कारण हुदाँ केटीले केटालाई फसाउन सक्छ । यसले पक्कै न्याय व्यवस्थालाई कमजोर पारि रहेको छ । यो टोल, समाज, मुलुक र कानुन व्यवस्थाको लागि चिन्ताको बिषय हो । यसको सबै पाटोमा शिघ्र पुनर्विचार थालि न्याय क्षेत्रलाई सुदृढ बनाउने गरि आवश्यकता अनुसारको कदम चाल्नु जरुरी छ ।