श्रवण वत्स
राजविराज ।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-०१, तिलाठीमा रहेका राष्ट्रिय प्राथिमक विद्यालयमा दुई बर्ष अगाडी बनेको विद्यालयको पर्खाल गत साउन १३ गते ढलेको थियो । पर्खाल ढलेको एक महिना बितिसक्दा पनि अवस्था ज्युंकात्युं छ ।
दोषीमाथि कानुनी कारबाहीको लागि स्थानीय केही युवाहरुले समाजिक संजाल मार्फत अवाज उठाइरहेका छन । पोखरीको डिलमा रहेको सो पर्खालको संरचना निर्माणमा प्राविधिकको लापरवाही रहेको भन्दै सम्बन्धित ईन्जिनियर र ठेकेदारलाई कारवाही हुनुपर्ने स्वयम् पनि ईन्जिनियर रहेका स्थानीय विशाल झाले बताए ।
उक्त विद्यालय पोखरी डिलमा रहेको छ ।पोखरी र विद्यालयको बिचमा रहेको पर्खाल ढलेको हुनाले त्यहाँ पढ्ने बालबालिका जोखिममा रहेका छन् । क्रान्ति केन्द्रसंगको कुराकानीमा एक स्थानीय बुद्धिजीवीले भने ” स्थानीय सरकार आएपछि गाउँ गाउँमा सिंहदरबार आएको बुझिएको थियो । स्थानीय समस्याको शिघ्र समाधान हुने विश्वास लिएको थिएँ तर यहाँ त सबै लुट्ने मात्र रहेछ ।” विद्यालयको भत्केको पर्खालको सम्बन्धमा उनले भने ” एक महिना देखि यहाँ बालबालिकाको जिवन संग सिधा जोडिएको विषयमा स्थानीय सरकारको कुनै चासो देखिदैन् । खै के गरिरहेछन् ? कुन अति जरुरी काममा व्यस्त छन् ? ” जिवनसंग जोडिएको यस विषयमा सरकार कुनै अप्रिय घटना घटे मात्र संवेदनशील हुने भन्दै उनले रोष प्रकट गरे । स्थानीय सरकारलाई शिघ्र पर्खालको व्यवस्थापन र बालबालिकाको सुरक्षामा ध्यान दिन सुझाव दिए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलसंग यस विषयमा बुझ्न खोज्दा “मलाई यस विषयमा कुनै औपचारिक जानकारी नरहेको, म आफ्नै मनले झरेको पर्खाल हेर्न गएको थिएँ । कुनै औपचारिक जानकारी आए कारवाही अगाडि बढाउँला ।” भने ।
सो विद्यालयको प्राधानध्यापक प्रविण कुमार कर्णले पर्खाल ढलेको दोश्रो दिन मैले गाउँपालिकालाई निवेदन दिएर जानकारी गराएको बताए ।
गाउँपालिकाका सूचना अधिकारी राजेश झासँग सोध्दा यस बिषयमा जानकारी रहेको बताए ।
गाउँपालिकाका ईन्जिनियर भाष्कर सिंहले त्यस पर्खालको बनावटमा प्राविधिक कुनै कमी कमजोरी नरहेको दावी गरे ।पोखरीमा माटो काट्ने बेला जेसीबीको दाँतले पर्खाल विचको फिटिङ्ग फूटेपछि पर्खाल कमजोर भएर ढलेको बताए।
गाउँपालिकाकै अर्को ईन्जिनियर उपेन्द्र देवले पनि पोखरीमा जेसीबीले माटो काट्ने बेलामा पर्खालको फुटिङ्ग फुटाले पछि पर्खाल कमजोर भएको र लगातार बर्षाले पोखरीमा पानी भरेपछि पर्खाल ढलेको बताए ।