क्रान्ति केन्द्र सम्वाददाता
गृह मन्त्रालयले सप्तरी सहित एक दर्जन जिल्लाका सीडीओहरूको सरुवा गरेको छ ।मन्त्रालय स्रोतका अनुसार सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) नुरहरी खतिवडालाई सप्तरीको सीडओमा नियुक्त गरिएको छ । सप्तरीका सीडीओ जनार्दन गौतमलाई उदयपुरको सीडीओमा पठाइएको छ । उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको सीडीओमा सरुवा गरिएको छ ।
ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत घनश्याम उपाध्यायलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । काठमाडौंका सीडीओ गोविन्द रिजाललाई भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा राखिएको छ ।
कास्कीका सीडीओ जयनारायण आचार्यलाई ललितपुर पठाइएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ । जुम्लाकी सीडीओ विजयाकुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् । जुम्लाको सीडीओमा मुकेशकुमार केसरीको सरुवा भएको छ ।
दैलेखको सीडीओमा गोगनबहादुर हमाललाई पठाइएको छ । दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ । पाँचथरका सीडीओ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको सीडीओ गणेश गैरेलाई नियुक्त गरिएको छ ।