क्रान्ति केन्द्र, सप्तरी : सप्तकोसी नदीमा आएको बाढीबाट प्रभावित सप्तरी,सुनसरी र उदयपुर जिल्लाका १६ वटा वडालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत साउन १७ मा सप्तकोसी नदीमा आएको बाढीबाट प्रभावित सप्तरी,उदयपुर र सुनसरीका ४ वटा नगरपालिकाका १६ वडालाई अगामी पुस मसान्तसम्मका लागि गृह मन्त्रालयले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।जम्मा १६ वटा वडा मध्ये ९ वटा वडा सप्तरी कै रहेको छ । शुक्रबार विपद् संकटग्रस्त क्षेत्र घोषणाको सूचना गृहले राजपत्रमा प्रकाशित गरेको हो ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ का उपदफा १ को प्रयोग गर्दै सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाका १, २, ४, ५, ६ र १०, उदयपुर जिल्ला बेलका नगरपालिकाका १ २, ३, ८ र ९ र सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ नम्बर वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ ।
उक्त ऐनमा ‘नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ’ भनिएको छ ।