श्रवण वत्स
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा करोडौं मुल्य बराबरको गाडीहरु प्रयोग विहिन अवस्थामा थन्काएर राखिएको छ । गाउँपालिकाले खरिद गरेको ४ वटा ट्रयाक्टर र एउटा सेफ्टी ट्यांक गाउँपालिका परिसरमा विगत ४/५ महिना देखि थन्काएर राखिएको छ । विगतका समयमा संचालनमा रहेको ट्रयाक्टर स्थानीय तहको निर्वाचन यता थन्काएर राखिएको त्यहाँका एक स्थानीयले बताएका छन् । गाउँपालिका परिसरमा राखिएका ती ट्रायक्टरहरुमा नम्बर प्लेट समेत रहेको छैन् । सुत्रका अनुसार प्रयोगमा रहेको समयमा पनि ट्रायक्टरमा कहिले नम्बर प्लेट रहेको थिएन ।
गाउँपालिकासंग पनि सेफ्टी ट्यांक रहेको बारेमा गत स्थानीय निर्वाचन पूर्व त्यहाँका स्थानीयहरुलाई थाहा थिएन । नयाँ जनप्रतिनिधिहरुको पदभार ग्रहणको भोलीपल्ट नै गाउँपालिका परिसरमा अचानक सेफ्टी ट्यांक ल्याएर राख्दा त्यहाँका जनतामा खुशी छाएको थियो । तर गाउँपालिकामा ल्याएर राखिएको त्यो ट्यांक विगतकै स्थानीय सरकारको पालामा किनेको बुझ्दा त्यहाँका बासिन्दाहरु अचम्भित भएका थिए । निवर्तमान गाउँपालिका अध्यक्ष सतिश सिंहको नेतृत्वमा रहेको सरकारको पालामा किनिएका सवारी साधनहरु वर्तमान सरकारले सार्वजनिक गर्न लागेको त्यतिबेला चर्चा चलेको थियो ।
तिलाठी कोइलाडी गाउँपालिकासंग एउटा एम्बुलेन्स समेत रहेको छ । तर एम्बुलेन्सले कसलाई सेवा दिएको छ भन्ने बारे त्यहाँका स्वास्थ्यकर्मीहरु पनि बेखबर रहेको छ । पहिला देखि नै राजविराजमा एम्बुलेन्स राखि सेवा भन्दा व्यापार जस्तो मात्र गाउँपालिकाले सञ्चालन गर्दै आएको स्रोतले बताएको छ । एम्बुलेन्सबाट उठ्ने गरेको भाडाको सहि हिसाब किताब समेत गाउँपालिकाले राख्ने गरेको छैन् । यस्ता सार्वजनिक सम्पत्तिको प्रयोग गरेर उठेको राजश्वमा गाउँपालिका पारदर्शी नरहेको स्थानीयहरुको गुनासो गरेको छ ।
गाउँपालिकासंग ४ वटा ट्रयाक्टर, एउटा सेफ्टी ट्यांक, एउटा एम्बुलेन्स, र अध्यक्षले चढ्ने स्कार्पियो जस्ता गाडीहरु रहेको छ । यसबाहेक पनि कार्यालय प्रयोजनका लागि भन्दै भाडाका गाडी समेत प्रयोग गर्ने गरेको बुझिएको छ ।
गाउँपालिका परिसरमा थन्किएका गाडीहरुका ड्राइभरहरु अहिले के गर्दै होलान् । “तिनीहरु कामै नगरी कसरी तलब खाने होला, सजिलै पाएको जागिर चट्ट छोडेर जनप्रतिनिधिसंगै गएको त पक्कै नहोला ! ” भन्दै एक स्थानीयले जिज्ञासा राखेका थिए ।
तिलाठी कोइलाडी गाउँपालिकामा अरुण मण्डलको नेतृत्वमा सरकार आएपछि गाउँपालिकामा फिर्ता आएको सवारी देखेर सबैलाई सुविधा पुग्ने भन्दै स्थानीयहरु आशावादी भएका थिए । तर उहिले देखि थन्काएर राखिएको सवारी साधन तथा ट्यांकलाई हेर्दाहेर्दै उनीहरूमा पुनः निराशा छाउन थालेको छ ।
स्थानीय तहको निर्वाचन पछि सो गाउँपालिकामा अधिकांश नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । नव निर्वाचित जनप्रतिनिधिहरुको ध्यान विकास काम तर्फ नभएर आफू अनुकूल करार कर्मचारी भर्ना, हाकिम सरुवा तर्फ रहेकोले यस्तो अवस्था आएको एक स्थानीयले आरोप लगाएका छन् । प्रयोगविहिन अवस्थामा रहेको कारण गाडीहरु दिनानुदिन जिर्ण बन्दै गएको छ । गाउँपालिकाको करौडौं रुपैयाँको लगानी खरानी बन्दै गइरहेकोले यथाशीघ्र यसलाई उपयोगमा ल्याउन स्थानीय बुद्धिजीवीहरुले दबाब दिन थालेका छन् ।
यस बिषयमा गाउँपालिका अध्यक्ष अरुण मंडलसंग जानकारी लिन पटकपटक फोन सम्पर्क गर्दा कार्यक्रममा रहेको, बाहिर रहेको भन्दै जानकारी दिन आलटाल गरे ।
गाउँपालिकाका सुचना अधिकारी राजेश झाले भने ” ट्रायक्टर, सेफ्टी ट्यांक , एम्बुलेन्स ड्राइभर नहुँदा सबै थन्केर राखिएको छ ।” धान काटने मेसिन बैशाख देखि निवर्तमान अध्यक्ष सतिश सिंहको घरमा राखिएको उनले बताए । काम गरि ल्याउने बेलामा त्यहाँ राखिएको मेसिन ड्राइभर नहुँदा ल्याउन नसकिएको भने। अब हामी यस बिषयमा चाडैँ समस्याको समाधन तिर लाग्ने उनले भने । एम्बुलेन्स समेत ड्राइभर नहुँदा ईन्चार्ज दिपक मण्डलको निगरानीमा तोपाको स्वास्थ्य चौकीमा राखिएको छ । अहिले कुनै बिरामीलाई एम्बुलेन्सको आवश्यकता परे भने के गर्ने प्रश्न गर्दा ईन्चार्ज मण्डलले अर्को विकल्प तिर लाग्ने बताए ।