क्रान्ति केन्द्र संवाददाता
राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरुसंग अधिकारकर्मीहरुले तीज मनाएका छन् । सोमबार तिज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी तथा अधिकारकर्मीहरू संग कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर सामुहिक रुपमा तीज मनाएका छन् ।
कैदीबन्दी महिलालाई मिठाई खुवाई चुरा, पोते, टिका लगायतको सृङ्गारका सामान दिएर अधिकारकर्मीहरुले खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिए । उक्त अवसरमा कारगारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको थियो । अधिकारकर्मीहरूले कैदी बन्दीको समस्याका बारे जानकारी समेत लिएका थिए । मङ्गलबार राजविराजमा मौलिक गीत, नृत्य सहितको प्रतियोगितात्मक तीज महोत्सव आयोजना गरिरहेको समितिका एक पदाधिकारीले बताएका छन् ।
वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तीज मनाउन नपाएका महिलाहरूसँग खुसी साटासाट गर्न कार्यक्रम गरिएको एकल महिला समूहकी प्रदेश अध्यक्ष अनिता देवकोटाले जानकारी दिए ।
यस कार्यक्रमको बारेमा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भने “तीजका वेला कोही दिदीबहिनी पनि माइती सम्झेर निन्याउरो भएर बस्नु नपरोस् भन्ने सन्देश दिन विगत केही वर्षदेखि अधिकारकर्मीहरुले कारागारका महिला बन्दीहरुसँग तीज मनाउन थालेको छ ।”
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, पत्रकार पुनम पोखरेल, शिक्षिका रत्ना गुरुङ, मेची महाकाली बुहारी संयुक्त आवाजकी मीरा गुरुङ, सामाजिक कार्यकर्ता उमेश यादव लगायतको सहभागिता रहेको थियो । कैदीबन्दीका लागि मिठाईको प्रबन्ध सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु अग्रवालले गरेका थिए ।