क्रान्ति केन्द्र सम्वाददाता।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले अनाधिकृत संरचना हटाउनको लागि चलाएको अभियानमा उपप्रमुख सुनिता डंगोलले आफ्नो पक्ष स्पष्ट पारेकी छिन् । प्रमुख शाहले अनाधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा रहेको भन्दै आज विहानै प्रेस विज्ञप्ति निकालेका छन् । प्रमुख शाहको विज्ञप्ति सार्वजनिक भएको एक घण्टा नबित्दै महानगर उपप्रमुख डंगोलले पनि “अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।” लेख्दै प्रेस विज्ञप्ति जारी गरिन् ।
हिन्दी फिल्म नायकको शैलीमा महानगरको महानायक बालेनले काम शुरु गरेको चर्चा परिचर्चा केहि दिनदेखि फैलिएको छ । यस प्रकरणमा खासै संलग्न नदेखिएकी उपप्रमुख डंगोलको भूमिकाका बारे पनि विभिन्न मिडियामा टिकाटिप्पणी भएको थियो । “तर केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको” उनले बताएकी छिन् ।
अनाधिकृत संरचना भत्काउने अभियान विरुद्ध केही दिन देखि काठमाडौँका व्यापारिक घरानाहरु गोलबन्द हुन थालेको छ । राजनीतिक दलका संरक्षण पाएका त्यस्ता पक्षको सम्भावित दवाव कम गर्न महानगरपालिकाका जनप्रतिनिधि यस विषयमा एकताबद्ध रहेको सन्देश दिन प्रमुख र उपप्रमुखले एकै दिन एकै समयमा विज्ञप्ति निकालेको हुन सक्ने अनुमान गरिएको छ ।