प्रवेशकुमार बाबुल
राजविराज । राजविराजमा अवस्थित गजेन्द्र चौकको अवस्था जिर्ण हुदैं गइरहेको छ । वि.स.२०६२/०६३ को जनआन्दाेलन भन्दा पहिला राजविराजको मुटुमा मुकुट सहितको राजा त्रिभुवनको शालिक रहेको थियो । त्रिभुवनको शालिक रहेकै कारण सो ठाँउलाई त्रिभुवन चौक नामले चिन्ने गरिन्थ्यो ।
दोस्रो मधेश आन्दोलनका क्रममा फागुन २०६४ मा राजा त्रिभुवनको शालिक तोडेर गजेन्द्र चोक नामाकरण गरिएको थियो । २०६९ माघ १० गते सिंहको पूण्य तिथिको अवसर पारेर उनको शालिक अनावरण भएको थियो । आन्दोलनको क्रममा आन्दोलनकारीहरुले त्यो शालिक भत्काई त्यहाँ मधेशका प्रणेता गजेन्द्रनारायण सिंहको शालिक स्थापना गरिएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले बताए ।
जनआन्दोलन पछि देशमा गणतन्त्र आयो । पछि मधेश केन्द्रित आन्दोलनहरु हुदैँजादा नेपाल एक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देश बन्न पुग्यो । संघियता आएपछि देशमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार समेत आयो । मधेश र मधेशका मुद्दाका लागि लड्ने राजनीतिक दलको नेतृत्वमा प्रदेश सरकार समेत बन्यो । उनीहरू आफैं विकासका लागि अब बजेट निर्माण गर्न थालेका छन् । तर राजविराज स्थित गजेन्द्र चौकमा रहेको मधेशका प्रणेता गजेन्द्रनारायण सिंहको शालिक भने अझ पुनर्निर्माणको पर्खाइमा रहेको लोसपा नेपालका नेता दिपेन्द्र चौधरीले बताए ।
सप्तरीबाट चुनाव जितेर नेताहरु केन्द्र सरकार र प्रदेश सरकारमा सहभागी भई मन्त्री समेत बनेका छन् । राजविराजमा पनि स्थानीय तहको सरकार रहेको छ । यहाँ स्थानीय तहको एक कार्यकाल मधेश केन्द्रित दलले नै सरकार चलाएको हो । अहिले पनि मधेश केन्द्रित दल नै यहाँ सरकारमा रहेको छ तर गजेन्द्र नारायण सिंहको शालिक जर्जर र त्यहाँको सरसफाईको अवस्था एकदमै खराब रहेको छ । चौकको सरसफाई नहुँदा शालिक रहेको परिसरमा घाँस उम्रि फोहर देखिन थालेको छ ।
मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान र सौन्दर्यीकरणको नाममा कार्यक्रम नै सञ्चालन गरे पनि गजेन्द्रको शालिकको सौन्दर्यीकरणमा किन ध्यान पुग्न नसकेको भन्दै चौधरीले प्रश्न गरेका छन् ।
गजेन्द्र चौकको परिसर प्रचारप्रसारको अड्डा बन्न थालेको छ । राजविराजको शानको रुपमा रहेको चौकमा कलेज, होटल, सिनेमा हलको प्रचार र पशुचौपायाको आश्रय स्थलको रूपमा परिणत भएको उनले बताए ।
मधेश केन्द्रित नेताहरुले गजेन्द्र नारायण सिंहलाई आफ्नो राजनैतिक अस्त्रको रुपमा मात्र प्रयोग गरिरहेको भन्दै उनले आक्रोश पोखे । जनतालाई आन्दोलनमा लैजान, आवश्यक परको बेला भ्रम छरि उकास्न र अप्ठ्यारो परेको बेला जनता झुक्याउन शालिकमा माथा (शिर) टेक्न मात्र नेताहरु गजेन्द्रको शालिकको शरणमा पुग्ने गर्छन् । चुनावको बेला विजयपछि जनताको मनमा बनि रहन मात्र फूलमाला अबिर लिएर त्यहाँ पुग्ने गरेको हुन्छ । निजि स्वार्थ प्रधान बनेकाले सरकारमा रहे पनि मधेशका प्रतिनिधिहरु गजेन्द्रनारायण सिंह प्रति सच्चा श्रद्धाभाव नराख्ने गरेको एक स्थानीयले आरोप लगाए ।
खास अवसर बाहेक त्यस परिसरको ताला समेत नखुल्ने भएकोले नियमित सरसफाई नहुँदा गजेन्द्र चौक समेत आकर्षक देखिदैन । मधेश केन्द्रित नेताहरुको नेतृत्वमा सरकार बने पनि तिनिहरु भोट र नोटको राजनितिमा मात्र अल्झेको छ । कार्यकर्ता केन्द्रित बजेट र भोटका उद्देश्यले मात्र बजेट विनियोजन गर्नाले मधेशका ऐतिहासिक सवालहरु ओझेलमा पर्न गएको स्थानीय राजनीतिकर्मीहरुको भनाई रहेको छ ।
राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने व्यक्तित्वलाई राज्यले सम्मान दिनु पर्छ । नेपालमा संघियताको प्रारम्भिक बहस सिर्जना गर्ने महामानव प्रति तिनै तहका सरकारले आँखा खोल्नै पर्दछ । मधेशका मसिहाको शालिकको सौन्दर्यिकरण मात्रले वहाँ प्रति सच्चा श्रद्धाभाव नहुने भएकाले मधेशप्रति सबैले इमान्दार प्रयत्न गर्न आवश्यक रहेको स्थानीयहरुको कथन रहेको छ ।